बीरगन्ज,०४ चैत । मानव बेचबिखन नियन्त्रणका लागि बीरगन्जमा नयाँ सूचना तथा परामर्श केन्द्र स्थापना गरिएको छ। ज्योति सामुदायिक विकास सेवा नेपाल, शाखा कार्यालय वीरगंज–पर्साद्वारा सञ्चालनमा ल्याइएको यो केन्द्र वीरगंज महानगरपालिका–१६, भन्सार गेटको उत्तरपट्टि २०८२/१२/४ मा औपचारिक रूपमा उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रम ज्योति सामुदायिक विकास सेवा नेपालका केन्द्रीय अध्यक्ष राजन सुनार को सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिका–१६ का वडाध्यक्ष परशुराम चौरसिया उपस्थित थिए।
सभापति राजन सुनारले मानव बेचबिखन रोकथाममा सबै पक्षको सहकार्य अनिवार्य रहेको बताए। उनले केन्द्रमार्फत जोखिममा रहेका समुदायलाई समयमै सचेतना, परामर्श र सहयोग उपलब्ध गराउने योजना रहेको उल्लेख गरे।
वडाध्यक्ष परशुराम चौरसियाले स्थानीय तहबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै केन्द्रले जनचेतना अभिवृद्धि र पीडितको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की ले पनि कार्यक्रममा बोल्दै मानव बेचबिखन नियन्त्रणमा प्रहरी मात्र नभई समुदाय, स्थानीय तह र संघ–संस्थाहरूको सक्रिय सहकार्य आवश्यक रहेको बताए। उनले सीमावर्ती क्षेत्र भएकाले पर्सा जिल्लामा यस्तो अपराध उच्च जोखिममा रहेको जानकारी गराए।
कार्यक्रममा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक विकास अधिकारी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदी, र ज्योति सामुदायिक विकास सेवा नेपाल पर्साका उपाध्यक्ष विजय पासवान लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव निरज आचार्य ले गरेका थिए।
केन्द्र मार्फत मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडित र जोखिममा रहेका व्यक्तिहरूलाई आवश्यक सूचना, परामर्श र सहयोग प्रदान गरिने संस्थाले जनाएको छ।

