वीरगञ्ज, ६ चैत — पर्सामा स्रोत नखुलेको २० लाख नगद सहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल पर्साले वीरगञ्ज भन्सार क्षेत्रबाट २० लाख रुपैयाँभन्दा बढी अवैध नगदसहित एक जनालाई नियन्त्रणमा लिएको हाे।
मंगलबार बिहान करिब ११:५० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा खटिएको सशस्त्र प्रहरीको चेकपोस्ट टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५बिके ८६०३ नम्बरको मोटरसाइकल जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१७ अलौ निवासी ५० वर्षीय विनय शंकर साह तुरहाले सिट कभरमुनि प्लास्टिकमा लुकाइछिपाइ ल्याउँदै गरेको नगद बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको नगदमध्ये नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय रुपैयाँ ६०० रहेको छ। विवरणअनुसार १ हजार दरका १,३०२ थान (१३,०२,००० रुपैयाँ), ५०० दरका १,४०० थान (७,००,००० रुपैयाँ) र ५० दरको १ थान नोट फेला परेको छ।
यसका साथै घटनास्थलबाट सामसुङ ग्यालेक्सी A15 मोडेलको एक थान मोबाइल र “वीरगञ्ज भन्सार एजेन्ट संघ, पर्सा” लेखिएको परिचयपत्र समेत बरामद गरिएको छ।
नियन्त्रणमा लिइएको व्यक्ति, नगद र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

