वीरगञ्ज । सानो दीप संस्थाको आयोजनामा श्री शारदा माध्यमिक विद्यालयमा निःशुल्क आँखा, दाँत तथा रक्त समूह परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
आँखा परीक्षणका लागि सामुदायिक आँखा अस्पतालको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो भने दाँत परीक्षण बुद्ध अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले गरेका थिए। साथै, विद्यार्थीहरूको रक्त समूह परीक्षणसमेत निःशुल्क रूपमा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक चरणमै रोग पहिचान गरी आवश्यक उपचारतर्फ मार्गदर्शन गर्नु रहेको बताइएको छ। परीक्षणका क्रममा थप उपचार आवश्यक परेका विद्यार्थीहरूलाई सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिससमेत गरिएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष पटेल, सचिव दिव्यांशु कर्ण तथा सदस्यहरू सुरज चौधरी, स्नेहा कुशवाहा, मुस्कान झा लगायतको सक्रिय सहभागिता रहेको थियो। उनीहरूको समन्वय र सहयोगले कार्यक्रम व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको जनाइएको छ।
संस्थाका अध्यक्ष कृष पटेलले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक, स्वास्थ्य तथा व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यार्थीहरू नै राष्ट्रको भविष्य भएकाले उनीहरूको सर्वाङ्गीण विकासका लागि सानो दीप संस्था सदैव प्रतिबद्ध रहने बताए।
विद्यालय प्रशासनले यस्ता उपयोगी कार्यक्रमबाट विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित भएको उल्लेख गर्दै आयोजक संस्था तथा संलग्न स्वास्थ्य संस्थाप्रति आभार व्यक्त गरेको छ।



