काठमाडौं,२५ चैत । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न पुनः बजारबाट २५ अर्ब रुपैयाँ झिक्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ५६ दिनका लागि उक्त रकम खिच्न लागेको हो।
बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि त्यसलाई सन्तुलनमा राख्न यो कदम चालिएको हो। सहभागी हुन चाहने क, ख र ग वर्गका संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्।
राष्ट्र बैंकले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिने व्यवस्था गरेको छ भने ब्याजदरमा आधारित प्रतिस्पर्धात्मक बोलकबोल गर्नुपर्नेछ। बहुब्याजदर प्रस्ताव पनि पेश गर्न सकिने जनाइएको छ।
यस प्रक्रियाबाट संकलित रकमको साँवा तथा ब्याज आगामी जेठ २० गते भुक्तानी गरिनेछ। केन्द्रीय बैंकले विगत केही वर्षदेखि नियमित रूपमा यस्तो उपकरण प्रयोग गर्दै बजारमा पैसाको आपूर्ति सन्तुलनमा राख्दै आएको छ।
हाल बैंकहरूमा निक्षेप बढे पनि कर्जाको माग अपेक्षाकृत कम हुँदा तरलता बढ्दै गएको छ। यस्तो अवस्थामा राष्ट्र बैंकको यो कदमले ब्याजदर स्थिर राख्न र मौद्रिक सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

