काठमाडौं,२५ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया सुरु भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा अदालतबाट आवश्यक प्रक्रिया अघि बढाउँदै नेपाल प्रहरी मार्फत इन्टरपोलमा अनुरोध गर्ने तयारी गरेको हो।
प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसमा इन्टरपोल बाट विभिन्न प्रकारका नोटिस जारी हुने प्रावधान रहेको छ।
विभागका महानिर्देशक गजेन्द्र ठाकुर ले देउवा दम्पतीमाथि अनुसन्धान जारी रहेको पुष्टि गरे पनि पक्राउ पुर्जीबारे भने औपचारिक रूपमा पुष्टि गरेका छैनन्।
यद्यपि स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भइसकेको दाबी गरिएको छ। त्यसपछि विभागले अध्यागमन विभाग सँग उनीहरूको यात्रा विवरण माग गरेको थियो।
प्राप्त विवरणअनुसार देउवा र राणा हाल विदेशमा रहेको पुष्टि भएपछि इन्टरपोल नोटिस प्रक्रिया अघि बढाइएको हो।
इन्टरपोलमार्फत ‘डिफ्युजन’ वा ‘रेड नोटिस’ लगायत विभिन्न प्रकारका सूचना जारी गरिन्छन्, जसले फरार अभियुक्तको खोजी र लोकेशन पत्ता लगाउन सहयोग पुर्याउँछ। देउवा दम्पतीका हकमा कुन प्रकारको नोटिस जारी गर्ने भन्ने विषयमा भने अझै निर्णय भइसकेको छैन।

