काठमाडौँ,२६ चैत । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनसम्बन्धी मुद्दा अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतले न्यायाधीशहरू हरिप्रसाद फुयाँल, मनोजकुमार श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दाको पेसी तोकेको हो। यसअघि संयुक्त इजलासले मुद्दा गम्भीर संवैधानिक व्याख्याको विषय भएको ठहर गर्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।
जसपा नेपालबाट अलग भएका अशोक राई समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएपछि विवाद सुरु भएको हो। उक्त निर्णयलाई गैरकानुनी भएको दाबी गर्दै उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसैबीच, यादवले पार्टी छाडेका ७ सांसदलाई पदमा रहन नदिन माग गर्दै अर्को रिट पनि दायर गरेका छन्। दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्ने तयारी भए पनि हालसम्म पूर्ण सुनुवाइ हुन सकेको थिएन।
यसअघि सर्वोच्चले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। यद्यपि, विवादका बीच उक्त समूहले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल लाई विश्वासको मत दिएको थियो।
अब पूर्ण इजलासमा हुने सुनुवाइबाट यस राजनीतिक विवादको कानुनी निष्कर्ष आउने अपेक्षा गरिएको छ।

