आईपीओ अघि वित्तीय विवरण अनिवार्य पुनरवलोकन

spot_img

काठमाडौँ,२६ चैत । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रियालाई थप पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने भएको छ। अब आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण अनिवार्य रूपमा लेखा विशेषज्ञमार्फत पुनरवलोकन गरिनेछ।

बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको हो। यस व्यवस्थाले कम्पनीहरूको वित्तीय विवरणलाई तथ्यपरक र विश्वसनीय बनाउने लक्ष्य राखिएको छ।

नयाँ प्रावधानअनुसार आईपीओ आवेदन दिने कम्पनीको वित्तीय प्रतिवेदनमा असामान्य अवस्था देखिएमा अनिवार्य पुनरवलोकन गरिनेछ। यस क्रममा विगत तीन वर्षको लेखापरीक्षण, पछिल्लो वर्षको वित्तीय विवरण तथा अन्तरिम प्रतिवेदनहरू जाँच गरिनेछ।

विशेषगरी बिक्री आम्दानीको ठूलो हिस्सा व्यापारिक प्राप्यमा देखिनु, कर दायित्वमा असन्तुलन हुनु वा सम्बद्ध पक्षसँग अत्यधिक कारोबार देखिएमा विस्तृत परीक्षण गरिने बोर्डले जनाएको छ।

त्यस्तै उत्पादन, होटल, जलविद्युत् र लगानी कम्पनीहरूका लागि छुट्टाछुट्टै क्षेत्रगत मापदण्डसमेत निर्धारण गरिएको छ। साथै वित्तीय सूचकमा अस्वाभाविक उतारचढाव वा ब्याज खर्चमा ठूलो अन्तर देखिएमा पनि पुनरवलोकन गरिनेछ।

बोर्डले यस कार्यका लागि लेखा विशेषज्ञको न्यूनतम योग्यता र अनुभवसमेत निर्धारण गरेको छ। नयाँ व्यवस्थाले आईपीओ प्रक्रिया अझ विश्वसनीय, पारदर्शी र लगानीकर्तामैत्री हुने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय