काठमाडौँ,२६ चैत । प्रतिनिधि सभा उपसभामुख निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका सबै प्रमुख दलले श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएका छन्। यससँगै राप्रपा मात्र आफ्नै उम्मेदवारसहित प्रतिस्पर्धामा एक्लिएको छ।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुख निर्वाचन गर्ने मिति तय गरेका थिए। सोहीअनुसार संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारी मनोनयनका लागि समय निर्धारण गरेको थियो।
निर्धारित समयभित्र राप्रपाकी सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।
संसद् सचिवालयका अनुसार ठाकुरको प्रस्तावक र समर्थकमा श्रम संस्कृति पार्टीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पनि रहेका छन्। रास्वपाले औपचारिक रूपमा ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।
त्यस्तै, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा एमाले र अन्य दलहरूले पनि ठाकुरकै पक्षमा समर्थन जनाएका छन्। सबै दलको समर्थन जुटेसँगै उनको उपसभामुख बन्ने सम्भावना लगभग सुनिश्चित जस्तै देखिएको छ।
प्रतिनिधि सभामा कुल २७५ सदस्य छन् र उपसभामुख निर्वाचित हुन १३८ मत आवश्यक पर्छ। दलगत हिसाबले हेर्दा राप्रपा (५ सांसद) बाहेक सबै ठूला दल ठाकुरको पक्षमा देखिएपछि उनको पक्षमा स्पष्ट बहुमत बन्ने देखिन्छ।
राप्रपाका उम्मेदवार सरस्वती लामालाई भने आफ्नै दलको मात्र समर्थन रहने अवस्था बनेको छ।
यसअघि विपक्षी दलहरूको बैठकले पनि ठाकुरलाई समर्थन गर्ने सहमति गरेका थिए भने पछि सत्तारूढ दल रास्वपाले समेत उनलाई समर्थन गर्ने निर्णय गरेसँगै उपसभामुख निर्वाचनको प्रतिस्पर्धा एकतर्फीजस्तै बनेको छ।

