काठमाडौँ,२६ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णयले विद्यालय तहको शैक्षिक क्यालेन्डर गम्भीर रूपमा प्रभावित हुने भन्दै नेसनल प्याब्सनले आपत्ति जनाएको छ।
नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो निर्णयप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
मन्त्रिपरिषद्ले चैत २२ गते पेट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यसहित शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। साथै, शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने व्यवस्था पनि गरिएको छ।
प्याब्सनका अनुसार हप्तामा दुई दिन बिदा कायम हुँदा वार्षिक रूपमा करिब ४० दिन अतिरिक्त बिदा थपिनेछ, जसले पाठ्यक्रम समयमै पूरा गर्न कठिन बनाउनेछ। यसले पठनपाठनमा असर पार्नुका साथै समग्र शिक्षण–सिकाइ प्रक्रियामा दीर्घकालीन प्रभाव पर्ने चेतावनी संगठनले दिएको छ।
त्यस्तै, शैक्षिक सत्र सुरु हुने मिति वैशाख १ बाट १५ गते सारिँदा शैक्षिक तालिकामा थप दबाब सिर्जना हुने र विद्यालय सञ्चालन व्यवस्थापनमा चुनौती बढ्ने उल्लेख गरिएको छ।
दैनिक ज्यालादारीमा निर्भर अभिभावकहरूका लागि पनि दुई दिने बिदा व्यवस्थापन कठिन हुने भन्दै यसले सामाजिक तथा आर्थिक असर समेत पार्न सक्ने प्याब्सनको भनाइ छ।
यद्यपि, सरकारी निर्णय कार्यान्वयनका लागि सदस्य विद्यालयहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ। प्याब्सनले नयाँ भर्ना वैशाख २ गतेदेखि सुरु गर्ने र पठनपाठन वैशाख १५ गतेदेखि सञ्चालन गर्ने जनाएको छ।
संगठनले कम्तीमा २२० दिन पठनपाठन सुनिश्चित गर्न, विद्यालय समय व्यवस्थापन गर्न तथा सूचना प्रविधिको प्रयोग बढाउन पनि सुझाव दिएको छ। साथै तालिम, गोष्ठी, अभिभावक दिवस र बैठकजस्ता कार्यक्रमहरू बिदाको दिनमै सञ्चालन गर्न सकिने विकल्प पनि अघि सारिएको छ।

