३१ असार — अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परेकाको उद्धार तथा राहत वितरणका लागि केन्द्रीय समिति बैठक स्थगित गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेश झर्ने भएका छन्।
बाढीपहिरो र डुबानमा परेकाहरूको अवस्थाबारे बुझ्न सभापति देउवा बुधबार तराईका विभिन्न जिल्ला जाने तयारी गरेका छन्। कांग्रेसका उपसभापति विमलेन्द्र निधि भने मंगलबार मधेश अाउँदैछन्। सभापति देउवाले सोमबार विज्ञप्ति निकालेर बाढीपहिरो र डुबान पीडितको उद्धार राहत वितरण सरकारका तर्फबाट व्यवस्थित भए/नभएको कांग्रेसले अनुगमन गर्ने बताएका थिए।
कांग्रेसको भातृ संगठन नेविसंघले डुबान पीडितका लागि सहयोग गर्न सहयोग सामग्री, रकम संकलन गरिराखेको छ भने संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने कांग्रेस सांसदले पाँच दिनको पारिश्रमिक डुबान पीडितलाई दिने निर्णय कांग्रेस संसदीय दलले गरिसकेको छ।




