वीरगन्ज,०९ असार । पर्सा प्रहरीले राजस्व छलीको आशंकामा नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको एक मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख ३३४६ नम्बरको ट्रक लाई असार ८ गते साँझ करिब ७ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो। राजस्व छली भएको आशंकामा ट्रकलाई बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो।
राजस्व अनुसन्धान कार्यालयमा गरिएको विस्तृत जाँचका क्रममा ट्रकबाट १ लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको औषधिको स्रोत, संलग्न व्यक्ति तथा तस्करीको सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ। प्रहरीले लागू औषध तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडाइ गर्ने जनाएको छ।




