spot_img

भेरी अस्पतालमा ‘सेटिङ साम्राज्य’ ? तत्कालीन मेसु निराजन सुबेदी र उदयवीर शाहीमाथि गम्भीर आरोप, करोडौँको अनियमिततामा किन हुदैन कारबाही ?

spot_img
spot_img

नेपालगञ्ज,०४ जेठ । पश्चिम नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था यतिबेला गम्भीर विवाद, आर्थिक अनियमितता, औषधि अभाव र कर्मचारी सेटिङका आरोपले फेरि चर्चामा आएको छ।  भेरी अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट निराजन सुबेदी र तत्कालीन फार्मेसी इन्चार्ज तथा हालका स्टोर इन्चार्ज उदयवीर शाहीमाथि सार्वजनिक भएका कागजात, हस्तलिखित विवरण, कर्मचारी असन्तुष्टि, चुहिएका संवाद र अख्तियारसँग सम्बन्धित पत्रहरूले गम्भीर प्रश्न खडा गरेका छन्।

अस्पताल स्रोतका अनुसार बिरामीले डाक्टरको पुर्जी बोकेर फार्मेसी पुग्दा १० वटा औषधिमध्ये १–२ वटा मात्रै पाउने अवस्था छ। विशेषगरी विष सेवन गरेर इमर्जेन्सी आउने बिरामीलाई आवश्यक पर्ने ‘प्रलिडोक्जिम’ (Pralidoxime) जस्ता अत्यावश्यक एन्टिडोट औषधि लामो समयदेखि अभाव रहेको दाबी गरिएको छ। तर अर्कोतर्फ एउटै कम्पोजिसनका धेरै ब्रान्डका औषधि कमिसनका लागि अत्यधिक मात्रामा खरिद गरिएको र करोडौँ मूल्य बराबरका औषधि गोदाममै म्याद गुज्रिएको अवस्थामा भेटिएको आरोप छ।

स्रोतका अनुसार Veltico Injection, Dabirom 110, Atenol 25, Bactolac लगायतका महँगा औषधि ठूलो परिमाणमा एक्सपायरी भएको तथा थप लाखौँ मूल्यका औषधि म्याद सकिने अवस्थामा पुगेका छन्। अस्पतालभित्र आवश्यक औषधि अभाव हुँदा बिरामी उपचार नपाएर छटपटाइरहेका बेला अर्कोतर्फ कमिसनका लागि अनावश्यक खरिद गरिएको भन्दै कर्मचारी र सेवाग्राहीहरू आक्रोशित बनेका छन्।
त्यस्तै, भेरी अस्पतालको औषधि स्टोरमा भएको रहस्यमय आगलागी घटनामाथि पनि प्रश्न उठिरहेको छ। आगलागीपछि ठूलो परिमाणमा औषधि “रिटर्न” गरिएको तथा स्टक मिलानका नाममा अनियमितता गरिएको विषयमा समेत अक्तियार को पत्राचार भएको चर्चा अस्पतालभित्र छ। स्रोतका अनुसार स्टोर आगलागी घटनालाई प्रमाण नष्ट गर्ने प्रयासको रूपमा समेत हेरिएको छ, यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन।

यसैबीच, सार्वजनिक भएका ह्वाट्सएप संवादहरूमा कम मूल्यको सामानलाई अत्यधिक रकममा खरिद देखाउने, खरिदलाई टुक्र्याएर कोटेशनमार्फत प्रक्रिया मिलाउने तथा सीमित समूहको प्रभावमा निर्णय गरिने विषय उल्लेख गरिएको छ। कर्मचारीहरूका अनुसार अस्पतालभित्र लामो समयदेखि “सेटिङ समूह” सक्रिय रहेको र त्यसकै आडमा करोडौँको अनियमितता भएको आरोप लाग्दै आएको छ।
उदयवीर शाहीको जीवनशैलीमाथि समेत प्रश्न उठ्न थालेको छ। स्रोतका अनुसार छोटो समयमै उनले करोडौँको घरजग्गा जोडेको तथा महँगो विद्युतीय BYD गाडी प्रयोग गरिरहेको चर्चा अस्पतालभित्रै हुने गरेको छ। यता, उनी बिना अनुमति भारतको दिल्लीमा पीएचडी अध्ययनमा रहेको विषयले थप विवाद सिर्जना गरेको छ। सरकारी जिम्मेवारीमा रहँदै अनुमति प्रक्रियाबिनै विदेशमा अध्ययन गरिरहेको विषयमा हालसम्म स्पष्ट कारबाही नहुनुले पनि प्रश्न उठाएको छ।

उता,निराजन सुबेदिको सेटिङ्ग द्वारा ल्याईयेका नयाँ मेडिकल सुपरिटेन्डेन्ट नवीन धर्नाल आएपछि कर्मचारीहरूलाई “पुराना विषय बाहिर नलानु, भ्रस्टाचार को बिषय बाहिर कुरा नगर्नु र येस्लाई आन्तरिक रूपमा मिलाउनुपर्छ” भन्ने प्रकारको ब्रिफिङ भइरहेको चर्चा अस्पतालभित्र चलिरहेको छ। यद्यपि, यसबारे अस्पताल प्रशासनले औपचारिक प्रतिक्रिया दिएको छैन।

स्थानीय नागरिक तथा सेवाग्राहीहरूले भने सरकारी अस्पतालभित्र देखिएको यस्तो अवस्थाले गरिब बिरामी प्रत्यक्ष मारमा परेको बताएका छन्। “औषधि पाइँदैन, बिरामी रोइरहेका छन्, तर अनियमिततामा संलग्नमाथि कारबाही हुँदैन,” एक सेवाग्राहीले गुनासो गरे।

यता, स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले भेरी अस्पतालसँग जोडिएका औषधि खरिद, स्टोर आगलागी, एक्सपायरी औषधि, खरिद अनियमितता तथा प्रशासनिक सेटिङका विषयमा निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयस्तरमा तीव्र बन्दै गएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय