जनकपुरधाम, असोज १५ गते ।
नेपाल–भारत सीमा खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ।
सीमा बन्दका कारण नेपाल- भारत सीमाको क्षेत्रमा रहेका दुबै देशका जनतालाई निकै समस्या तथा कठिनाई भइरहेको भन्दै विभिन्न संघसंस्थाले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री अोलीलाई ज्ञापनपत्र बुझाएको हो ।सीमा खोलाउन माग गरेको समुहले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरेको छ।
नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाको नेतृत्वमा गएको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत् प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनमा ‘आपत विपतको बेला नेपाल भारतको सीमा बन्द हुँदा भारतबाट आँखाको उपचार गराउन नेपाल आउने र नेपालबाट अन्य रोगको उपचार गराउन भारत जाने बिरामीहरु विचल्लीमा परि कयौं जना त ज्यान गुमाइसकेको अवस्था छ ।’
नेपाल भारत खुल्ला सीमा सम्वाद समूह, नेपाल उद्योग वाणिज्य महासंघ–प्रदेश २, माँ जानकी यातायात प्रालि, जनकपुरधाम, लोकतान्त्रिक युवा नागरिक समाज, फलफुल व्यवसायी संघ, जनकपुरधाम, धनुषा चेम्बर अफ कमर्स, जनकपुर अञ्चल ग्यास व्यवसायी संघ, जिरोमाइल युवा कमिटी र क्लोथ बैंक नेपालले गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रदेश २ को मुख्यमन्त्री कार्यालयलाई बोद्धार्थ गराउँदै प्रधानमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र पठाएका हुन् ।


