काठमाडौं,०५ असार । नेकपाका सहसंयोजक माधवकुमार नेपालले केही व्यक्तिहरूले पार्टीबारे नकारात्मक प्रचार गरिरहेको बताएका छन्। शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनका अनुसार पार्टी देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रुपान्तरणको एजेन्डासहित अघि बढिरहेको छ। तर केही व्यक्तिहरूले गलत सूचना फैलाउँदै भ्रम सिर्जना गर्न खोजिरहेको भन्दै उनले पार्टीपंक्तिलाई त्यस्ता प्रचारबाट प्रभावित नहुन आग्रह गरे।
“जुन पार्टी देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्छ, त्यही पार्टीले समाजमा आमूल परिवर्तनको लक्ष्यसहित काम गरिरहेको हुन्छ,” उनले भने।
नेता नेपालले पार्टीले नेपाली समाजमा आधारित वैज्ञानिक समाजवादको अवधारणालाई अघि बढाइरहेको उल्लेख गर्दै यस विषयमा लामो समयदेखि छलफल भइरहेको बताए।
उनका अनुसार पार्टीको संरचना र नीतिगत दस्तावेजलाई अन्तिम रूप दिने काम तीव्र गतिमा अघि बढिरहेको छ। साथै, सबै पक्षलाई समेटेर पार्टी विधानलाई छिट्टै पूर्णता दिने तयारी भइरहेको उनले जानकारी दिए।




