वीरगञ्ज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र नेपाली कागं्रेसका नेता मोहमद साहबुद्धिनको व्यक्तिगत स्वार्थका कारण वीरगंजको माहोल अशान्त बन्दै गएको छ ।
सिंह र साहबुद्धिन एक अर्कालाई सिध्याउने र आफ्नो उपस्थितिलाई मजबुत बनाउनेतर्फ केन्द्रित हुँदा वीरगंजको राजनीति झडप र कुटाकुट तर्फ उख्मुख भई हिंसात्मक बन्न सक्ने संभावना बढ्दै गएको छ ।
मेयर सिंहको नागरिकता प्रकरणको छिटो भन्दा छिटो छानबिन गर्नु पर्ने माग गर्दै शुक्रबार साँझ साहबुद्धिनको नेतृत्वमा प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको थियो । त्यसमा नेपाल विद्यार्थी संघ पर्साका केही नेता तथा कार्यकर्ताहरु पनि सहभागी भएका थिए ।
माइस्थान चोकमा साहबुद्धिन पक्षधरले काेण सभा गर्न लागेको समयमा मेयर सिंह पक्षधरका युवाहरु आएर प्रतिरोध गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
समयमै प्रहरी पुगेर बल प्रयोग नगरेको भए झडपले उग्र रुप लिएर हिंसात्मक बन्न सक्थ्यो र त्यसमा धेरैको हातहाति हुन सक्थ्यो एक प्रत्यक्षदर्शीले बताए ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज गरेर दुवै पक्षधरलाई लखेटेको थियो । त्यसक्रममा आधा दर्जन बढी घाइते भएका थिए भने केहीलाई नियन्त्रणमा लिएर राति छाडिएको पर्सा प्रहरीले जनाएको छ ।
नागरिकता प्रकरणमा कांग्रेस नेता सहाबुद्धिन पनि विवादमा पर्दै आएका छन् । उनको नागरिकताको विषयलाई लिएर मेयर सिंहले विगतदेखि नै छानविन गर्नु पर्ने बताउँदै आएका छन् । राजनीतिक शक्तिको आडमा सहाबुद्धिनको नागरिकता छानबिन हुन नसकेको बताइन्छ ।
यता केही समय अघि एक किशोरीलाई मेयर सिंहले नागरिकता बनाईदिएको समाचार सार्वजनिक भएको थियो । पछि मेयर सिंहले यस प्रकरणमा नागरिकता पाएको किशोरी आफ्नो छोरी भएको स्वीकारी सकेका छन् ।
तर सहाबुद्धिन पक्षधरले भने मेयर सिंहको नागरिकता छानबिन गर्नुपर्ने माग गर्दै वीरगंजमा विरोध प्रदर्शन गर्दै आएका छने भने जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।
झट्टा हेर्दा दुवै पक्ष एक अर्कालाई सिध्याउँदै वीरगंजमा आफ्नो दबदबा कायम गर्न चाहान्छ भने त्यसैको झल्को स्वरुप यिनीहरुले शक्ति प्रदर्शन गर्ने काम पनि गर्दै आएका छन् ।
यसरी साँडेको जुधाई बाछाको मिचाई भने जस्तै दुई नेताको कोपभाजनमा आम वीरञ्जेली युवाहरु परेका छन् । यसले उनीहरुलाई मात्रा नभएर वीरगञ्जको भविष्यलाई अन्धकारमा धकेल्ने देखिन्छ । प्रतिशोधको राजनीतिले अन्तत दुर्घटना निम्त्याउने हुँदा त्यसतर्फ नगई संवाद र सहमतिको बाटो अंगालेर आगडि बढ्दा दुवैको भलो हुने राजनीतिक क्षत्रका जानकारहरु बताउँछन् ।



