काठमाडौँ, २६ चैत्र ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रशासनमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाउँदै तीनकुने घटनाका मुख्य पात्र दुर्गा प्रसाईँलाई उन्मुक्ति दिँदा र राप्रपाका नेताहरूसमक्ष अश्रुग्याँस प्रहार गर्दै हिरासतमा राखिएकोमा कडा आपत्ति जनाएका छन्।
बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले भने, “प्रहरीले दुर्गा प्रसाईँलाई सजिलै फन्दाबाट उम्कन दिएको छ, तर शान्तिपूर्ण आन्दोलनमा सहभागी आफ्ना नेताहरूलाई अत्याचार गरिएको छ।” उनले तीनकुने घटनाको निष्पक्ष छानबिनको लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश र मानव अधिकारकर्मीहरू सहित स्वतन्त्र आयोग गठन गर्नुपर्ने जोड दिए।
अध्यक्ष लिङ्देनले थप भने, “सत्ता सधैं तपाईँहरूको हातमा हुँदैन, र जनता तपाईँको गोठको गाईबस्तु होइनन्। राप्रपा कमजोर नठानियोस्।”
उनको भनाइमा, शान्तिपूर्ण विरोध प्रदर्शनलाई कमजोरीको रूपमा नलिन आग्रह गर्दै उनले सरकारको पक्षधर आयोगको सट्टा निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक भएको औंल्याए।
“राप्रपा अध्यक्ष लिङ्देनले प्रहरी प्रशासनको दोहोरो मापदण्डको विरोध गर्दै तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गरे”

