बेरुत – इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा सैन्य कारबाहीलाई अझ तीव्र पारेको छ। पछिल्लो एक घण्टाभित्र इजरायली लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगर क्षेत्रमा लगातार हवाई आक्रमण गरेका छन्।
अल जजिरा’का अनुसार इजरायलले सो क्षेत्रमा नयाँ चरणको आक्रमण अभियान सुरु गरेको हो। यसअघि पनि दक्षिणी उपनगरका अन्य दुई स्थानमा भीषण बमबारी गरिएको थियो।
इजरायली सेनाले उक्त क्षेत्रका बासिन्दालाई तत्काल स्थान खाली गर्न ‘विस्थापन आदेश’ जारी गरेको छ।
इजरायलले ती स्थानहरूमा सशस्त्र समूह ‘हिजबुल्लाह’का सैन्य संरचना तथा आधार शिविर रहेको दाबी गर्दै आएको छ।
हालैका आक्रमणपछि बेरुत र आसपासका क्षेत्रबाट हजारौँ सर्वसाधारण विस्थापित भइसकेका छन्। आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिको आधिकारिक विवरण भने अझै सार्वजनिक भएको छैन।

