काठमाडाैं, ९ वैशाख । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
सडकको बायाँ किनारबाट सुख्खा पहिरो खसिरहेकाले अहिले दुवै दिशाबाट सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।
सदरमुकाम नारायणगढ र पश्चिम क्षेत्र जोड्ने मुख्य सडक भएकाले अहिले दाउन्नेमा सयौँ सवारीसाधन जाममा परेका छन्। पहिरो निरन्तर खसिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको र भित्ता काटेर मात्रै समस्या समाधान गर्न सकिने ट्राफिक प्रहरी प्रमुख जनक बन्जाराले बताए।
सडक विस्तारको क्रममा कालोपत्र सतह खनेपछि कमजोर बनेको भू–सतहले सुख्खा पहिरो निम्त्याएको अनुमान गरिएको छ।
दाउन्ने सडक खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरेर विस्तारको काम भइरहेको छ। तर दिनदहाडै आएको पहिरोले थप जोखिम देखाएको छ।

