काठमाडौं, ९ वैशाख । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले मुलुकको समुचित विकासका लागि भूमिको पूर्ण नियन्त्रण राज्यमा हुनुपर्ने स्पष्ट पारे।
गौतमले वर्तमान प्रणालीमा योजनावद्ध विकास सम्भव नभएको दाबी गर्दै भने, “जमिन राष्ट्रियकरण गरेर आवश्यकता अनुसार विकासको खाका कोर्नुपर्छ। योजनाविना निजी स्वामित्वमा रहेको जमिनबाट दीगो विकास सम्भव छैन।”
छलफल मात्र गरेर देशका आधारभूत समस्या समाधान नहुने जिकिर गर्दै उनले अब कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। साथै, उनले प्रधानमन्त्री बन्ने आकांक्षा राख्नेहरूलाई ‘काम गर्न नसके कान समाएर उठबस गर्ने’ प्रतिबद्धता गराउनुपर्ने भन्दै कटाक्ष गरे।
“यदि कसैले प्रधानमन्त्री हुने सपना देख्छ भने, उसलाई काम नगरे कान समाएर सय पटक उठबस गराउने वाचा गराउनुपर्छ। अनि मात्र जनतालाई भनौं– यिनीहरू समस्याको समाधान गर्न लायक होइनन्,” गौतमको तर्क थियो।

