काठमाडौं,३१ साउन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले दोस्रो खेलमा आज बंगलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमै सीमित भएको हो।
नेपालका लागि कुशल मल्लले ३४, गुलशन झाले २६ र कप्तान रोहित पौडेलले २३ रनको योगदान दिएका थिए। बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए।
नेपालले तेस्रो खेल सोमबार मेलबर्न स्टार्ससँग र चौथो खेल मंगलबार होबार्ट हुरिकेन्ससँग खेल्नेछ। अगस्ट २० मा मेलबर्न रेनेगेड्स र अगस्ट २२ मा पाकिस्तान शाहीन्ससँग भिड्दै नेपालले आफ्नो अभियान जारी राख्नेछ।
नेपालको टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी लगायत खेलाडी रहेका छन्।

