अण्डाको मूल्यमा ठूलो गिरावट, ठूलो ३७५ र मिडियम ३३५ कायम

spot_img

चितवन,२६ माघ । अण्डाको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घोषणा गरेको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, नेपालमा अण्डा उत्पादन बढेको र भारतबाट पनि ठूलो मात्रामा अण्डा भित्रिएपछि मूल्यमा गिरावट आएको हो। अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट ९३० वटाको ३७५ र मिडियम ३३५ रुपैयाँ कायम गरिएको छ।

यसअघि माघ २२ गते ठूलो अण्डा ४३५ र मिडियम ४०५ रुपैयाँमा बिक्री भइरहेको थियो भने माघ ११ गते क्रमशः ४९५ र ४७५ रुपैयाँमा पुगेको थियो। गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको थियो, जब ठूलो अण्डा फार्ममा ५६५ रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो।

पोखरेलले बताएअनुसार, भारतीय सेतो अण्डाको ठूलो आपूर्ति र घरेलु उत्पादन वृद्धि हुँदा यहाँको अण्डाले बजारमा मूल्य पाउन सकिरहेको छैन। सङ्घले यस विषयमा भारतीय अण्डा रोक्न सरकारी निकायसँग निरन्तर माग गर्दै आएको छ।

अण्डा उत्पादनको लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भएकोले समर्थन मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ नजिक पुगेको छ। मूल्य घट्दा किसान निराश बनेका छन्। सङ्घले देशभरका फार्मबाट मूल्य संकलन गरेर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य निर्धारण गर्ने गर्दछ।

spot_img

ताजा अपडेट

लोकप्रिय