अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपालले हात पारे पहिलो जित

spot_img

काठमाडौं,०३ भदौ । अष्ट्रेलियामा जारी “टप एण्ड टी–२०” सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ। मंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले होर्बट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो।

अष्ट्रेलियाको पामस्र्टनस्थित काजालिस मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको होर्बट हुरिकेन्सले नेपालले दिएको १८१ रनको लक्ष्य पूरा गर्न सकेन र १६.१ ओभरमा अलआउट हुँदै ११३ रनमा रोकियो। हुरिकेन्सका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने तिमोथि वार्डले ७ बलमा १३ रन मात्र जोड्न सके।

बलिङतर्फ नेपालका नन्दन यादवले सर्वाधिक ५ विकेट लिए। रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, र रिजन ढकालले १–१ विकेट थपे।नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। आरिफ शेखले सर्वाधिक ३३ रन बनाउँदा, ओपनर कुशल भुर्तेल र आसिफ शेखले क्रमशः २७ र २९ रन जोडे। भीम सार्कीले पनि १८ रन थपे।

यसअघि नेपालले सिरिजको पहिलो तीन खेलमा लगातार हार भोगेको थियो—नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, बंगलादेश एसँग ३२ रनले, र मेल्बर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो। अब नेपालले सिरिजको पाँचौं खेल मेल्बर्न रेन्गाड्ससँग खेल्नेछ भने अन्तिम खेल पाकिस्तानको साहिनसँग हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय