रौतहट,०५ असोज । प्रहरीले रौतहटको ईशनाथ नगरपालिका–८ मोतीपुर नजिकै काउली बोकेको पिकअप भ्यानबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप भ्यानमा भारततर्फ लैजाने तयारीसहित ३३४ किलो गाँजा लोड गरिएको थियो। रामपुर प्रहरी चौकीका असई अमोद साफीको नेतृत्वमा खटिएको टोलीले राति करिब ८ बजे नियमित चेकजाँचका क्रममा गाँजा फेला पारेको हो।
भ्यानको माथिल्लो भागमा करिब २० पोका काउली राखिएको थियो भने तल लुकाइएका २६ पोका खोल्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ। तर, प्रहरी देख्नेबित्तिकै गाडी चालक फरार भएका कारण भ्यान नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।
हालैको जेन–जी आन्दोलनका कारण गस्ती कार्यमा कमी आएको अवसरलाई प्रयोग गर्दै तस्करहरूले फेरि सक्रिय हुने प्रयास गरेको प्रहरीको भनाइ छ।

