बारा, १७ असोज – बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले कार्यालयभित्र मदिरा सेवन गरी महिलाहरूसँग मौजमस्ती गरेको आरोप लागेपछि स्थानीयले बिहीबार राति पालिका कार्यालय घेराउ गरेका छन्।
स्थानीयवासीले जनप्रतिनिधिले आफ्नो पदको मर्यादा विपरीत काम गर्दै विकासको मन्दिर जस्तो पवित्र स्थानलाई वेश्यालयको रुपमा प्रयोग गर्न खोजेको भन्दै रोष प्रकट गरेका छन्।
बडा दशैंको अवसरमा कवही गोठ बजारमा मेला लागेको थियो। मेलामा आर्केस्टा नाचको कार्यक्रम राखिएको थियो। कलाकारलाई खानपिनको व्यवस्था पालिका कार्यालयमै गरिएको थियो। तर अध्यक्ष यादवले अन्य ठाउँबाट महिला बोलाएर कार्यालयभित्र मौजमस्ती गरेको खबर फैलिएपछि स्थानीय युवा आक्रोशित बनेका थिए।
युवाहरू पालिका कार्यालय पुगेपछि अध्यक्ष यादव, उनका छोरा, उपाध्यक्षको श्रीमान् सतेन्द्र यादवसहित अन्य व्यक्तिहरू आपत्तिजनक अवस्थामा भेटिएको स्थानीयको दाबी छ। यसपछि मेला हेर्न आएका दर्शक र स्थानीयवासी पनि कार्यालय अगाडि भेला भई नाराबाजी गर्दै तोडफोडमा उत्रिएका थिए।
उक्त विवाद बढ्दै गएपछि अध्यक्ष पक्षका केही व्यक्तिहरूसँग हात हालाहालसमेत भएको थियो। स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि प्रहरीलाई लाठीचार्ज र चार राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनास्थलमा रातभरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको थियो।
स्थानीयले शुक्रबार बिहान ३ बजेसम्म अध्यक्ष यादव, उपाध्यक्षका श्रीमान् सतेन्द्र यादवसहित करिब ३० जनालाई कार्यालयभित्रै घेराउ गरेर राखेका थिए। उनीहरूकै समूहले महिलाहरूसँग अबेर रातिसम्म मदिरा सेवन गर्दै नचाएको स्थानीयको आरोप छ।
स्थिति अझै उग्र बनाउने काम अध्यक्ष यादवका साडु सुनिल यादवले गरेको स्थानीयको भनाइ छ। उनले सयौँ युवालाई बोलाएर भिडलाई थप आक्रोशित बनाइएको आरोप लगाइएको छ।
बिहान प्रहरीको स्कटिङमा अध्यक्ष यादवसहितका जनप्रतिनिधिलाई सुरक्षित रूपमा कलैयातर्फ लगिएको एक वडा अध्यक्षले जानकारी दिए। नाम नखुलाउने सर्तमा उनले भने, “अध्यक्षले आफ्नो मर्यादा बिर्सेर कार्यालयभित्र गरेका गतिविधि अत्यन्तै निन्दनीय छन्। यसले पालिकाको साख गुमाएको छ।”
उनका अनुसार कार्यालयभित्र महिलाहरूसँग रातभर गरिएको क्रियाकलापका भिडियो र फोटो हेरेर स्थानीयवासी लजित भएका छन्।
तर गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले भने सबै आरोप निराधार रहेको दाबी गरेका छन्। उनले कार्यालय परिसरमा कलाकार र अतिथिहरूलाई खानपिनको व्यवस्था मात्र गरिएको बताए। “विपक्षीहरूले घटनालाई अतिरञ्जित गरेर समूहलाई भड्काउने प्रयास गरेका हुन्। कार्यालयमा सिसी टिभीसमेत छ, प्रमाणहरू सुरक्षित छन्,” अध्यक्ष यादवले प्रतिक्रिया दिएका छन्।
उनले हरेक बर्ष परम्परागत रुपमा मेला लाग्दै आएको एव पालिका र वडा कार्यालय परिसरमा खाना खाने व्यवस्था मिलाउने गरिएको बताए । बाहिर आएका सबै कुराहरु हल्ला मात्र भएको त्यसमा कुनै सत्यता नरहेको अध्यक्ष यादवको भनाई छ ।

