सिरहा, ०६ मंसिर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले धनुषा–सिरहा जोड्ने कमला नदीको अधुरो पुल स्थलगत निरीक्षण गरी निर्माण कम्पनीलाई तीन महिनाभित्रै काम सक्ने जिम्मेवारी दिएको जानकारी दिनुभयो।
यो पुल २०६८ सालमा तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भए पनि १४ वर्ष बित्दा पनि अधुरो रहेको थियो। स्थलगत निरीक्षणमा मन्त्री घिसिङले स्वयं डुङ्गा चढेर स्थानीयको दैनिक कष्ट अनुभव गर्दै पुलको तत्काल प्रयोगका लागि अस्थायी विकल्पबारे छलफल गर्नुभएको थियो।
निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष तीन महिनाभित्र पुल सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो। पुल ४६९ मिटर लामो छ र हाल ८३ प्रतिशत भौतिक तथा ८२ प्रतिशत वित्तीय प्रगति पूरा भएको छ।
स्थलगत अनुगमनमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सडक विभागका उच्च अधिकारी र स्थानीय जेन्जी अगुवाहरू पनि सहभागी थिए। मन्त्रालयले नियमित अनुगमन र सहजीकरण गर्दै पुल निर्माण समयमै सम्पन्न गरिने सुनिश्चित गरेको छ।

