वीरगंज,२७ फागुन – नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले शैक्षिक सत्र २०८२/०८३ मा भर्ना भएका प्रथम वर्षका एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका नयाँ विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम फागुन २७ गते कलेज परिसरस्थित लेक्चर थिएटर–१ मा आयोजना गरिएको थियो।
नवप्रवेशी विद्यार्थीहरूको शैक्षिक यात्राको सुरुवातसँगै कलेजको शैक्षिक प्रणाली, नियम–नियमावली, अध्ययन संरचना तथा चिकित्सकीय पेशासँग सम्बन्धित जिम्मेवारीबारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा प्राध्यापकबीच परिचयात्मक वातावरण पनि निर्माण गरिएको थियो।
कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक शहनवाज अन्सारी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो भने परम्पराअनुसार पानस प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको थियो। त्यसपछि नवप्रवेशी विद्यार्थी, अभिभावक तथा प्राध्यापकहरूले आ–आफ्नो परिचय दिएका थिए। सो अवसरमा प्रा. डा. रवि शंकर गुप्ताले विद्यार्थीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रममा अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ लगायत अन्य अतिथिहरूले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र मानव सेवाप्रति समर्पित भएर अध्ययन गर्न प्रेरित गर्नुभयो।
कार्यक्रमको समापनमा कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले धन्यवाद ज्ञापन गर्दै नवप्रवेशी विद्यार्थीहरूको सफल र उज्ज्वल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्नुभयो।
नेशनल मेडिकल कलेजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै स्वास्थ्य सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।




