‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ कारागारबाट रिहा

spot_img

काठमाडौँ,२७ फागुन ।  राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ कैद सजाय पूरा गरेर रिहा भएका छन्।

डिल्लीबजार कारागार मा सजाय भुक्तान गरिरहेका उनी बुधबार जेलमुक्त भएका हुन्। गण्डकी प्रदेश का पूर्व प्रदेशसभा सदस्य समेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योग मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। उक्त सजायमध्ये बाँकी रहेको १ वर्ष ४ महिना कैद पूरा भएपछि उनी रिहा भएका हुन्। यसअघि उनले विभिन्न समयमा गरी दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए। साथै उनलाई २० प्रतिशत कैद छुट समेत दिइएको थियो।

यो मुद्दा २०६१ साल वैशाख ३१ गते काठमाडौँको महाराजगञ्ज स्थित एक रेस्टुरेन्टमा भएको ग्याङ फाइटसँग सम्बन्धित हो। उक्त घटनामा मनाङेले धारिलो हतियार प्रहार गरी ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङ माथि आक्रमण गरेको अभियोग लागेको थियो। आक्रमणका क्रममा मिलन गुरुङको बायाँ हात गम्भीर रूपमा घाइते भएको थियो, जसलाई पछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा शल्यक्रिया गरेर जोडिएको थियो।

घटनापछि मिलन गुरुङकी श्रीमतीले मनाङेसहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरी अनुसन्धानपछि काठमाडौँ जिल्ला अदालत मा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतले सुरुवातमा सामान्य कुटपिटको मुद्दा ठहर गर्दै मनाङेलाई दुई वर्ष कैद सजाय सुनाएको थियो। तर सरकार पक्षले पुनरावेदन गरेपछि उच्च अदालत पाटन ले फैसला उल्ट्याउँदै ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनायो।

पछिल्लो समय सर्वोच्च अदालत ले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेपछि मनाङे पक्राउ परेका थिए। त्यसपछि उनलाई कात्तिक २७ गते कारागार चलान गरिएको थियो। सजाय अवधि पूरा भएपछि बुधबार उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय