काठमाडौं,२७ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले सञ्चालन गरेको अभियानअन्तर्गत देशभर करिब दुई लाख ४० हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका छन्।
मन्त्रालयले माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा कुल २ लाख ३७ हजार ९७२ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम ले जानकारी दिएका छन्।
उनका अनुसार नियमित खोप कार्यक्रमअन्तर्गत २ लाख १५ हजार ३१४ किशोरीले खोप लगाएका छन् भने गत वर्षको अभियानमा छुटेका २२ हजार ६४८ किशोरीले पनि यसपटक खोप लगाएका छन्। नियमित कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत २ लाख १ हजार ८९ छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका १३ हजार ५८५ किशोरीले खोप लगाएका छन्।
यस्तै गत वर्षको अभियानमा छुटेका अहिले कक्षा ७ देखि १० सम्म अध्ययनरत १४ हजार ५८६ छात्राले पनि खोप लगाएका छन्। साथै ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने ८ हजार ४९ किशोरीले समेत खोप लगाएका छन्। छात्रा तथा किशोरीलाई आफ्नै विद्यालय र नजिकका स्वास्थ्य संस्थामार्फत खोप दिइएको थियो।
शाखा प्रमुख डा. गौतमका अनुसार धनुषा जिल्ला, महोत्तरी जिल्ला, अर्घाखाँची जिल्ला, गुल्मी जिल्ला, पाल्पा जिल्ला र रोल्पा जिल्ला बाट खोपसम्बन्धी पूर्ण विवरण आउन बाँकी रहेको छ।
यसैबीच हिमाली भेगका डोल्पा जिल्ला, हुम्ला जिल्ला, जुम्ला जिल्ला र मनाङ जिल्ला मा भने विद्यालय बिदा भएकाले खोप अभियान सञ्चालन हुन सकेको छैन। ती जिल्लामा चैत महिनामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन पापिलोमा भाइरस को सङ्क्रमण भएकाले यसबाट जोगिन एचपिभी खोप लगाउनु प्रभावकारी मानिन्छ।

