काठमाडौँ,०८ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले आयात र निर्यात दुवै क्षेत्रमा उल्लेखनीय वृद्धि गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, गत वर्षको सोही अवधिको तुलना गर्दा आयात १८.७१ प्रतिशतले र निर्यात ७७.५१ प्रतिशतले बढेका छन्।
गत आर्थिक वर्षको पहिलो चार महिनामा आयात वृद्धि ०.१७ प्रतिशतमा सिमित थियो भने निर्यात ४.१६ प्रतिशतले मात्र बढेको थियो। तर यस वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा आयात ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सोही अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरका स्वदेशी वस्तुहरू विभिन्न देशहरूले भित्र्याएका छन्।
व्यापार वृद्धि भए पनि घाटा भने झनै चुलिएको छ। पहिलो चार महिनामा मात्रै नेपालले ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा व्यहोर्नु परेको छ, जुन गत वर्षको सोही अवधिको ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँभन्दा बढी हो।
समग्रमा हेर्दा चार महिनामा नेपालको कुल द्विपक्षीय वैदेशिक व्यापार ७ खर्ब २ खर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको विभागले जनाएको छ।

