मकवानपुर,१२ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, कर्रा चोकमा गएराति भएको सडक दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पशुपतिनगरबाट हेटौंडातर्फ आउँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो।
दुर्घटनामा पर्सा वीरगञ्ज–१६ नागुवा घर भई हेटौंडा–१० मा बसोबास गर्दै आएकी ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी पुष्कर बोगटीका अनुसार उपचारका लागि हेटौंडा अस्पताल लगिएको डोमको उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

