सप्तरी, १९ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिकामा बिहीबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन्। दुर्घटना कञ्चनरुप–२ बरमझिया नजिकै पूर्व–पश्चिम राजमार्गमा भएको हो।
जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश–०२–००१ ख ०२८७ नं. को यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ ख ४४०२ नं. को ट्रक ठूलो गतिमा ठोक्किँदा बसमा सवार करिब ५० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मृतकको परिचय भने खुल्न बाँकी छ।
दुर्घटनामा भारतीय नागरिकसहित ११ जना घाइते भएका छन्। घाइते हुनेमध्ये भारत–मधुबनीका मो. सहिद , अलताफ ईनताफ , अनिसकुमार शर्मा, सितामढीका सुभान्सुकुमार झा र सिरखण्डीकी वर्षीया शान्ती देवी रहेका छन्।
त्यसैगरी, महोत्तरी जलेश्वरका जेरुद्र झा, सुनसरी हरिनगराका शंकर कुमार मेहता, धनुषाका सोनु राम, झापाकी टिका देवी दुलाल, सर्लाही पर्साका मनोजकुमार साह र मोरङ सुन्दरहरैंचाकी कृतिका कोइराला पनि घाइते भएका छन्।
घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरि उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका क्रममा बसमा ५५ जना यात्रु सवार रहेको र घटना कसरी भएको भन्नेबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

