वीरगन्जका पूर्व मेयर सरावगी एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी

spot_img

बीरगन्ज,२२ मंसिर । नेकपा एमालेको आगामी ११औँ महाधिवेशनमा वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। व्यवसायी पृष्ठभूमिका सरावगीले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारी गरेको बताएका छन्। नेकपा एमालेको महाधिवेशन यहीँ मंसिर २७ गतेदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ। गएको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार बनेका सरावगीले यसपटक पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्य लिएका हुन्।

सरावगीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) छोडेर एमाले प्रवेश गर्ने समयमा पार्टी अध्यक्ष केपी शर्मा ओली ले उनलाई केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका थिए। तर, महाधिवेशनपछि पार्टी प्रवेश गरेका कारण देखाउदै उनलाई केन्द्रीय सल्लाहकार परिषद सदस्यको जिम्मेवारी दिइएको थियो।

यस विषयमा पूर्व मेयर सरावगीले भने, अघिल्लो पटक पार्टी अध्यक्षले बोलेको बाचा पुरा भएको छैन। यसपटक भने म मधेसी कोटाबाट केन्द्रीय सदस्य लड्ने तयारी गरेको छु। मलाई विश्वास छ, अध्यक्ष ओलीले मलाई केन्द्रीय सदस्य बनाउन सहयोग गर्नुहुनेछ।

विजय कुमार सरावगी सफल व्यवसायी हुन्। उनी वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघको दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन्। सामाजिक र उद्योग व्यवसायको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएका सरावगीले अब उप्रान्त राजनीतिक क्षेत्रमा सक्रिय रहने प्रण गरेका छन्।

पर्सा एमालेमा देखिएको गुटउपगुटको राजनीतिभन्दा बाहिर बसेर पार्टीको भूमिकामा लागेका कारण सरावगीले सबै गुटका नेता कार्यकर्ताको विश्वास जित्न सफल भएको वीरगन्ज नगर कमिटीका सचिव लियाकत अलि ले बताएका छन्। सरावगी एमालेमा प्रवेश गरेपछि उनको पक्षमा जनमत बलियो हुँदै गएको देखिन्छ।

नेकपा एमालेको ११औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय सदस्यमा एक दर्जन आकांक्षी देखिएका छन्। यसअघि केन्द्रीय कमिटीमा रहेका अरविन्द कुमार सिंह, राजकुमार गुप्ता, प्रभु हजारा र निर्मला देवकोटा समेत केन्द्रीय समितिमा लड्ने तयारीमा छन्।

पर्सा एमालेमा अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलको गरी दुई गुट स्पष्ट देखिन्छ। स्रोतका अनुसार अरविन्द सिंह ईश्वर पोखरेलको गुटबाट केन्द्रीय सदस्य लड्ने तयारीमा छन् । प्रभु हजारा, निर्मला देवकोटा र राजकुमार गुप्ता केपी ओलीको गुटबाट केन्द्रीय समितिमा चुनाव लड्ने तयारीमा छन्। सरावगी २०७४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए। २०७९ सालको स्थानीय तहको निर्वाचनमा भने उनी नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार बनेका थिए र करिब २४ हजार मत प्राप्त गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय