झापा,१९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ ।
शनिबार बिर्तामोडमा सम्पन्न एमाले झापा क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गर्दै केन्द्रमा पठाएको हो । पार्टीभित्रबाट अन्य कुनै उम्मेदवारको दाबेदारी नआएपछि ओलीको नाम सर्वसम्मत रूपमा टुंग्याइएको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।
सचिव कार्कीका अनुसार केपी शर्मा ओली यसअघि पनि झापा–५ बाट पटक–पटक भारी मतान्तरले निर्वाचित हुँदै आएका छन् । यस क्षेत्रमाथि उनको राजनीतिक पकड अझै सुदृढ रहेको निष्कर्षसहित क्षेत्रीय कमिटीले यसपटक पनि अध्यक्ष ओलीकै नेतृत्वमा चुनावमा जाने निर्णय गरेको हो ।
आगामी निर्वाचनलाई महत्वका साथ हेरेको एमाले झापाले ओलीको उम्मेदवारीले पार्टी संगठन थप सशक्त हुने विश्वास व्यक्त गरेको छ ।



