काठमाडौँ,१२ वैशाख । थापाथलीस्थित बागमती नदी किनारको अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने कार्य तीव्र बनेको छ। बिहान ८ बजेदेखि डोजर चलाइएपछि बस्ती क्रमशः खाली हुँदै गएको हो।
महानगरपालिकाका अनुसार अधिकांश बासिन्दाले आफैं वैकल्पिक कोठा खोजेर वा आफन्तकहाँ सरेका छन्। तर पूर्ण रूपमा घरबारविहीन भएको दाबी गर्ने ६ परिवारलाई अस्थायी रूपमा दशरथ रंगशालामा लगिएको छ।
बस्ती हटाउनुअघि स्वेच्छाले स्थानान्तरण हुन चाहनेलाई महानगर प्रहरी र नेपाल प्रहरीले सवारी साधन तथा व्यवस्थापन सहयोग प्रदान गरेको जनाएको छ।
सरकारले सुकुम्बासी व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि अघि बढाएको छ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै वास्तविक भूमिहीनहरूलाई नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबाग लगायतका स्थानमा पुनर्स्थापना गर्ने तयारी गरिएको छ।
तर स्थायी व्यवस्थापनअघि प्रभावित परिवारहरूको पहिचान तथा आवश्यक मूल्यांकनका लागि हाल उनीहरूलाई रङ्गशालामा स्क्रिनिङका लागि राखिएको जनाइएको छ।

