हेटौंडा,०८ माघ । हेटौंडाको मुख्य बजार क्षेत्रभित्र २५ मिटर सडक विस्तारको विषयमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ पटक–पटक सर्दै आएको छ । सो मुद्दाको सातौँ पेसी माघ १२ गतेका लागि तोकिएको छ ।
मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि मुद्दा पुनः सरेको हो । यसअघि पुस २९, २०, १३, ६ र २ गते तोकिएका पेसीसमेत निरन्तर हेर्न नभ्याइने वा हेर्न नमिल्ने सूचीमा परेका थिए ।
सडक विस्तारका क्रममा आफ्नो घरजग्गा तथा सम्पत्तिको सुरक्षाको माग गर्दै विन्दवासिनी कंसाकारसहित स्थानीयवासीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायलाई विपक्षी बनाएर दायर मुद्दामा गत मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ‘कारण देखाऊ आदेश’ जारी गर्दै सडक विस्तारको काम तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
अन्तरिम आदेशको निरन्तरता र मुद्दाको अन्तिम टुंगो लगाउने विषयमा पटक–पटक पेसी तोकिए पनि अहिलेसम्म सुनुवाइ हुन सकेको छैन । रिट निवेदकहरूले उचित मुआब्जा र कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याउन नहुने जिकिर गर्दै आएका छन् ।
हेटौंडाको मुख्य बजार क्षेत्रमा २५–२५ मिटर सडक विस्तार गर्ने योजनाअनुसार मंसिर २० गते रातोमाटेबाट बुद्धचोक हुँदै राप्ती पुल (महेन्द्र राजमार्ग) र बुद्धचोकदेखि चौकीटोल (त्रिभुवन राजपथ) सम्म करिब ९.५ किलोमिटर क्षेत्रमा पर्ने पाँच सयभन्दा बढी घरटहरा डिभिजन सडक कार्यालयले भत्काएपछि बजार क्षेत्र अस्तव्यस्त बनेको छ ।
डोजर लगाएर घरका अगाडिका भाग भत्काइएपछि धेरैले पछाडिको भागमा अस्थायी रूपमा घर बनाएका छन् भने कतिपयले आफैं संरचना भत्काएका छन् । अदालतको निर्णयमा ढिलाइ हुँदा भत्किएका सटर मर्मत गरी केही व्यवसायीले पुनः व्यापार सुरु गरेका छन् ।
सडक डिभिजन कार्यालयले सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म सडक विस्तार तथा व्यवस्थापनको काम अघि बढाउन नसकिने जनाएको छ । कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले अदालतको आदेश कुरेर बसेको बताए ।
सडकको केन्द्रबिन्दुबाट दायाँ र बायाँ २५–२५ गजभित्र पर्ने दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल ५ सयभन्दा बढी घरटहरा तथा संरचना भत्काउनुपर्ने सूची रहेकोमा हालसम्म अधिकांश संरचना भत्काइसकिएको जनाइएको छ ।

