spot_img

इन्टरनेटले होइन, अनुभवले बुझ्नुपर्छ स्थानीय समस्या : बालेन शाह

spot_img
spot_img

बीरगन्ज,१० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियानलाई कागजमा सीमित नराखी प्रत्यक्ष अनुभवमा आधारित बनाउनुपर्ने बताएका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाह तेह्रथुमको म्याङ्लुङ देवीथानमा स्थानीय मतदातासँग भेटघाट गर्दै अभियान सञ्चालन गरिरहेका छन्।

स्थानीयसँगको संवादमा शाहले भने, “कुनै पनि जिल्लालाई रिपोर्ट, किताब वा इन्टरनेटमा मात्र सीमित गरेर बुझ्न सकिँदैन। यहाँ आएर माटोमा बसेर, यहाँका मान्छेसँग कुरा गरेपछि मात्रै वास्तविक समस्या बुझ्न सकिन्छ। भोलि संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिलाई आधार बनाउनुपर्छ।”

उनले इन्जिनियरिङ पृष्ठभूमिको अनुभव प्रयोग गर्दै ठूला र अव्यवहारिक योजनाभन्दा स्थानीय तहबाटै सुरु गर्न सकिने काममा जोड दिनुपर्ने धारणा राखे। तेह्रथुमको कृषि उत्पादन क्षमता प्रशंसा गर्दै उनले उत्पादन भए पनि बजार व्यवस्थापन कमजोर भएको समस्यालाई प्रमुख चुनौतीको रूपमा औँल्याए।

भेटघाट कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्की पनि उपस्थित थिए। शाहले आगामी नीति तथा योजनामा स्थानीय बिचार र सुझाव समावेश गर्न जिल्ला–जिल्ला भ्रमण जारी राख्ने बताएका छन्। यसअघि उनी इलाम, ताप्लेजुङ र पाँचथर हुँदै तेह्रथुममा पुगेका थिए र पूर्वी नेपाल केन्द्रित चुनावी अभियान सञ्चालन गरिरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय