वीरगञ्ज, १० माघ – बारा र पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्षम र प्रभावशाली उम्मेदवार दिन नसकेको भन्दै मतदाताहरूले आलोचना गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपाललगायत पुराना दलहरूले चर्चित तथा हेभीवेट उम्मेदवारहरू चुनावी मैदानमा उतारेका बेला रास्वपाको उम्मेदवार छनोट कमजोर देखिएको मतदाताको धारणा छ।
यसपटकको निर्वाचनमा जेन–जी आन्दोलनको प्रभाव र पार्टी नेतृत्वको लोकप्रिय छविका कारण रास्वपाले बारा–पर्साका केही क्षेत्र जित्न सक्ने आँकलन गरिएको थियो। तर उम्मेदवार छनोटकै कारण त्यो आँकलन उल्टिन सक्ने शंका बढेको छ।
राजनीतिमा नयाँ, समाजमा पर्याप्त योगदान नगरेका तथा राजनीतिक दाउपेचमा अनुभव नपुगेका व्यक्तिहरूलाई उम्मेदवार बनाइएको कारण चुनावी प्रतिस्पर्धामा पार्टी कमजोर पर्न सक्ने विश्लेषण गरिएको छ। पार्टीबाट केही चर्चित र अनुभवी राजनीतिक व्यक्तिहरूले उम्मेदवारी दिन इच्छा व्यक्त गरे पनि जिल्लास्तरीय नेतृत्वले स्थानीय परिस्थिति सही रूपमा नबुझ्दा पार्टीको अवस्था कमजोर बन्ने हो कि भन्ने विषयमा पार्टीभित्रै बहस भइरहेको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका एक चर्चित नेताले रास्वपाबाट टिकट माग गरेको भए पनि जिल्ला कमिटीले केन्द्रीय नेतृत्वलाई यथार्थपरक जानकारी नदिएको आरोप लागेको छ। त्यस्तै, पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा पनि स्वच्छ छवि र स्वीकार्य उम्मेदवार अघि सार्न नसकेको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ।
पर्सा क्षेत्र नम्बर–२ बाट रास्वपाले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष तथा पर्दा पछाडि प्रभावशाली ठेकेदारका रूपमा चिनिने सुशील कानुलाई उम्मेदवार बनाएको छ। स्रोतका अनुसार उनी वीरगञ्ज महानगरपालिकाका तत्कालीन मेयर विजय सरावगी र वर्तमान मेयर राजेशमान सिंहका विश्वासपात्र मानिन्छन् र महानगरभित्र हुने गतिविधिसँग जोडिँदै आएका व्यक्ति हुन्।
उक्त क्षेत्रमा अन्य दलहरूले चर्चित तथा हेभीवेट उम्मेदवार खडा गरेकाले रास्वपाको प्रतिस्पर्धा कठिन देखिएको छ। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ र ४ मा पनि समाजमा परिचित र स्वीकार्य व्यक्तिहरूलाई उम्मेदवार नबनाइएको भन्दै पार्टीकै नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
त्यसैगरी बाराको अवस्था पनि उस्तै रहेको दाबी गरिएको छ। क्षेत्र नम्बर–२ मा महिनौँदेखि चुनाव लड्ने तयारी गरिरहेका एक नेतालाई क्षेत्र नम्बर–३ मा सारिएको छ भने क्षेत्र नम्बर–३ र ४ का उम्मेदवारको दक्षिणी क्षेत्रका मतदातासँग सामान्य चिनजानसमेत नरहेको बताइएको छ।
उता नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी तथा जसपा नेपाललगायत दलहरूले बारामा अनुभवी, चर्चित राजनीतिज्ञ तथा समाजसेवीहरूलाई उम्मेदवार बनाएका छन्। केही स्थानमा ती दलहरूले यसपटक नयाँ अनुहार तथा जेन–जी पुस्ताका युवाहरूलाई समेत उम्मेदवार बनाएको देखिन्छ।
तर रास्वपाका बारा र पर्सा जिल्ला नेतृत्वले भने पार्टीले सुझबुझका साथ उम्मेदवार चयन गरेको दाबी गरेका छन्। उनीहरूका अनुसार सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार र अन्य दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ।
बाराका एक मतदाताका अनुसार जिल्लाका हरेक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ भने समानुपातिकतर्फ रास्वपाले उल्लेख्य मत प्राप्त गर्ने सम्भावना रहेको छ।
तर रास्वपाका बारा र पर्सा जिल्ला नेतृत्वले भने पार्टीले सुझबुझका साथ उम्मेदवार छनोट गरेको दाबी गरेका छन्। उनीहरूका अनुसार सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले अन्य दलका उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्ने अवस्था रहेको छ।
यता, बारामा ‘टुरिस्ट उम्मेदवार’ को चर्चा बढ्दै गएको भन्दै त्यसले रास्वपाको स्थितिलाई कमजोर बनाउन सक्ने आँकलन पनि गरिएको छ। बाराका एक मतदाताका अनुसार जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ भने रास्वपाले समानुपातिकतर्फ उल्लेख्य मत पाउने सम्भावना रहेको छ।



