अन्तरविद्यालय क्रिकेट र फुटबल प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा, मुनलाईट र बिकनको प्रभावशाली जित

spot_img

बीरगन्ज,११ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलहरूमा विद्यालयस्तरीय खेलाडीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन गरेका छन्।

आज क्रिकेटतर्फ ३ र फुटबलतर्फ ४ खेल सम्पन्न भएका हुन्। क्रिकेटतर्फ, मुनलाईट स्कुलले मिनील्याण्ड स्कुललाई ८४ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। टस जितेर ब्याटिङ गरेको मुनलाईटले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनायो।

जवाफमा मिनील्याण्ड पूरै ओभर खेले पनि ६१ रनमै सीमित भयो। मुनलाईटका दिलराज यादवले ४५ रनको उत्कृष्ट पारी खेलेपछि म्यान अफ द म्याच घोषित भए। दोस्रो खेलमा फुर्कान एकेडेमी विजयी भयो। नेपाल काभेरीले टस जितेर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ९५ रन बनाए पनि फुर्कान एकेडेमीले २ विकेट मात्र गुमाएर १२.२ ओभरमै लक्ष्य पूरा गर्दै ८ विकेटको सहज जित हात पार्‍यो। तेस्रो खेलमा सेन्ट जेभियर्सले आचार्य एकेडेमीलाई पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको सेन्ट जेभियर्सले ८ विकेटको क्षतिमा १५२ रनको योगफल तयार गरेको थियो। जवाफमा आचार्य एकेडेमी पूरै ओभर खेले पनि ८४ रनमै सीमित रह्यो।

फुटबलतर्फ, गुरुकुल एकेडेमीले गोल्डेन फ्युचर माविविरुद्ध जित हात पार्‍यो। खेलमा गोल्डेन फ्युचरका खेलाडीबाट भएको आत्मघाती गोल निर्णायक बन्यो। गुरुकुलका युहान राई म्यान अफ द म्याच बने। दोस्रो खेलमा ज्ञानदा एकेडेमीले नेपाल काभेरीलाई ३–२ ले रोमाञ्चक रूपमा पराजित गर्‍यो। ज्ञानदाका अनुरञ्जन साह खेलका म्यान अफ द म्याच घोषित भए। तेस्रो खेलमा बिकन माविले बीरगञ्ज पब्लिक ई–स्कुललाई ८–० को फराकिलो अन्तरले पराजित गर्‍यो। बिकनका अंश थारु म्यान अफ द म्याच बने।

त्यसैगरी अन्तिम खेलमा साउथ जोनले डिएभीलाई ५–० ले हराउँदै शानदार जित हात पार्‍यो। साउथ जोनका आयुष चौधरी खेलका म्यान अफ द म्याच घोषित भए।

spot_img

ताजा अपडेट

लोकप्रिय