काठमाडौं,१२ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न पत्राचार गरेको छ।
मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलका अनुसार, निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेबाट लागू गरेको आचारसंहिता सम्बन्धित क्षेत्रहरूमा पनि प्रभावकारी बनाउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई सर्कुलर पठाइएको हो।
सरकारले २०८२ साल पुस १२ गतेको नेपाल राजपत्रमा आचारसंहिता सार्वजनिक गरेको थियो। यसले यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू हुने व्यवस्था गरेको छ।
पत्राचारमा मन्त्रालयले आवश्यक जानकारी उपलब्ध गराइ सबै तहमा आचारसंहिता पालनामा ध्यान दिन आग्रह गरेको छ। यसमा परिच्छेद १०, अनुसूची ५ र दफा ५५ लाई विशेष रूपमा उल्लेख गरिएको छ।
मन्त्रालयको कदमले निर्वाचनको निष्पक्षता, पारदर्शिता र कानुनी दायरामा चुनाव सञ्चालन सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

