spot_img

होटल फरेष्ट इनको आईपीओ माघ २२ देखि सर्वसाधारणका लागि खुल्दै

spot_img
spot_img

काठमाडौं,१४ माघ । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर हुने ४० करोड रुपैयाँको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। सोमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष तथा ८० हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।

अब बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर निष्काशन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

आईपीओ प्रयोजनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले होटल फरेष्ट इन लिमिटेडलाई आईआरएन डबल बी माइनस (IRN BB-) इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको आयोजना निर्माणमा कुल ३ अर्ब ४८ करोड २१ लाख रुपैयाँभन्दा बढी लागत लागेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि १०.८६ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १५.३३ वर्ष रहेको बताइएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडलाई दिइएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत ‘सि–आस्बा’ प्रणाली वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा रहेको ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय