बालेन शाहको घरमा चोरी

spot_img

काठमाडौं,१७ माघ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारस्थित घरमा चोरी भएको छ। मेयर बालेन र उनकी पत्नी घर बाहिर रहेको समयमा चोरी भएको प्रहरी स्रोतले जनाएका छन्।

शुक्रबार साँझ बालेनका मामा ससुराका छोरा घर पुगेका थिए र चोरी भएको पत्ता लगाए। उनले नियमित रूपमा घरको बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्ने काम गर्दै आएका थिए। घर पुगेपछि मूल ढोका फोडिएको र घरभित्रका सामानहरू तितरबितर भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरी गरेर लगेका छन्। अरु सामान चोरी भएको छ कि छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै, एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरूले पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो चोरी ‘प्रोफेसनल’ समूहले गरेको हुन सक्ने देखिएको छ। प्रहरीका अनुसार घटना गत १४ गतेदेखि शुक्रवार साँझको बीचमा भएको हुन सक्ने छ।

spot_img

ताजा अपडेट

लोकप्रिय