काठमाडाै,२९ माघ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ।
उच्च अदालत पाटनका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा रायमाझी पक्षका कानुन व्यवसायीले निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको हो।
रायमाझीले पुस २५ गते मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१/९२० अनुसार थुनामुक्तको माग गर्दै निवेदन दिएका थिए। तर जिल्ला अदालत काठमाडौँले उक्त निवेदन अस्वीकार गरेपछि उनी उच्च अदालत पाटन पुगेका हुन्।
त्यसैगरी, बेचन झाले पुस ११ गते उच्च अदालतमा निवेदन दिएका थिए, जसलाई पनि सुनुवाइ स्थगित गरिएको छ।
संबन्धित दफा अनुसार, थुनामा रहेका अभियुक्त कसुरदार होइन भन्ने पर्याप्त प्रमाण भेटिएमा अदालतले मुद्दा जुनसुकै अवस्थामा पुगेको भए पनि थुनाबाट छाड्ने आदेश दिन सक्ने प्रावधान छ।
उच्च अदालतले हालको स्थगनपछि मुद्दाको नयाँ सुनुवाइ मिति तोक्नेछ।



