बारा,२९ माघ । बाराको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार ई. अरविन्द साहले आज कलैया उपमहानगरपालिका–९, रामपुरमा घरदैलो कार्यक्रम गर्दै कृषिसँग सम्बन्धित मुद्दा सम्बोधन गर्ने बताएका छन्। रामपुरका किसान र स्थानीयवासीसँग संवाद गर्दै साहले भने, “कृषि क्षेत्रलाई व्यवस्थित नगरी समग्र विकास सम्भव छैन। समयमै मल र गुणस्तरीय बिउ उपलब्ध गराउनु राज्यको पहिलो दायित्व हो।”
उनले थपे, “किसानले लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । मल, बिउ र सिचाइ सुनिश्चित नगरी उत्पादन बढ्दैन।” साहले सिचाइ प्रणालीको विस्तार र मर्मतलाई प्राथमिकतामा राख्ने बताए। वर्षातमा भर पर्ने परम्परागत खेती प्रणालीबाट किसानलाई मुक्त गर्न दीर्घकालीन सिचाइ योजना आवश्यक रहेको उनको भनाइ थियो।
त्यसैगरी, उत्पादनपछि उचित मूल्य नपाउने समस्या समाधानका लागि बजारीकरणमा सरकारी समन्वय र सहजीकरण आवश्यक रहेको उनले बताए। घरदैलो कार्यक्रमका क्रममा साहले डिजिटल सूचना र प्रविधिको प्रयोगलाई पनि जोड दिए। उनले मतदातालाई घण्टी छापमा मतदान गर्न आग्रह गर्दै, किसानका मुद्दा संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।



