काठमाडौं,२९ माघ । टिकटकले नेपालमा आगामी आम निर्वाचनलाई लक्षित गर्दै ‘इन–एप इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। प्रयोगकर्तालाई निर्वाचनसम्बन्धी सही, आधिकारिक र भरपर्दो जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याइएको हो।
कम्पनीका अनुसार सन् २०२० देखि विश्वका विभिन्न देशमा भएका २०० भन्दा बढी निर्वाचनमा लागू गरिएको निर्वाचन निष्पक्षता र डिजिटल नैतिकतासम्बन्धी पहलको निरन्तरताका रूपमा नेपालमा पनि यो सेवा सुरु गरिएको हो। यसका लागि टिकटक र निर्वाचन आयोग, नेपालबीच निर्वाचनको निष्पक्षता प्रवर्द्धन र जिम्मेवार डिजिटल सहभागिता सुदृढ गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। आयोग परिसरमा आयोजित क्षमता अभिवृद्धि कार्यशालामा भ्रामक सूचना नियन्त्रण, जिम्मेवार डिजिटल व्यवहार तथा निर्वाचन नैतिकताबारे छलफल गरिएको थियो।
टिकटकभित्र उपलब्ध ‘इलेक्सन सेन्टर’ निर्वाचन आयोगसँगको सहकार्यमा तयार पारिएको हो। यसमार्फत प्रयोगकर्ताले नेपालको निर्वाचन प्रक्रिया, मतदान गर्ने तरिका, भ्रामक सूचना चिन्ने उपाय तथा आयोगका आधिकारिक स्रोतमा सिधै पुग्ने लिंकहरू प्राप्त गर्न सक्नेछन्। निर्वाचनसम्बन्धी सामग्री र खोज परिणाममा विशेष ट्याग प्रयोग गरी प्रयोगकर्तालाई उक्त केन्द्रतर्फ मार्गदर्शन गरिने बताइएको छ।
दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोत्ताकिनले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्दै प्लेटफर्मले सुरक्षित डिजिटल वातावरण र सुसूचित सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।
टिकटकले भ्रामक तथा हानिकारक सामग्री नियन्त्रणका लागि उन्नत मोडरेशन प्रविधि, सुरक्षा विज्ञहरूको सहयोग र नेपाल-केन्द्रित ‘इलेक्सन टास्कफोर्स’ परिचालन गरिएको जनाएको छ। अपुष्ट सामग्रीमा लेबल लगाउने, सिफारिसबाट हटाउने वा सेयरअघि सचेत गराउने उपाय अपनाइने बताइएको छ।
साथै, नक्कली पहिचान, बोट नेटवर्क र गोप्य प्रभाव सञ्चालनजस्ता कृत्रिम संलग्नता निषेध गरिएको छ। यस्ता गतिविधिविरुद्धका कारबाही ‘ट्रान्सपेरेन्सी सेन्टर’मार्फत सार्वजनिक गरिनेछ। एआईबाट तयार गरिएका सामग्री अनिवार्य रूपमा लेबल गर्नुपर्ने व्यवस्था गरिएको र C2PA Content Credentials जस्ता प्रविधिमार्फत अन्य प्लेटफर्ममा बनेका एआई सामग्री पनि पहिचान गर्न सकिने टिकटकले जनाएको छ।
आगामी निर्वाचनसँग सम्बन्धित आफ्ना पहल र अद्यावधिक विवरण ‘ग्लोबल इलेक्सन इन्टेग्रिटी हब’मार्फत सार्वजनिक गर्दै जाने जानकारी पनि टिकटकले दिएको छ।



