काठमाडौं,२९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनअघि नै राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गरी पाँच वर्ष स्थिर रहने सरकार गठनको व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
रूपन्देहीको भैरहवामा बिहीबार कांग्रेसका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवार सहभागी रहेको जिल्ला भेलालाई सम्बोधन गर्दै शर्माले निर्वाचनपछि सरकार अस्थिर हुने अवस्थाबाट जोगिन चुनावअघि नै सहमति आवश्यक रहेको बताए। उनका अनुसार कांग्रेस बहुमत ल्याउने लक्ष्यसहित चुनावमा जाने भए पनि दीर्घकालीन राजनीतिक स्थिरताका लागि व्यापक सहकार्य आवश्यक छ।
शर्माले प्रत्यक्ष निर्वाचन र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुने व्यवस्था गर्न सकिने धारणा राखे। बहुमत नपुगेको अवस्थामा ‘वनर्स टेक अल’ अवधारणाअनुसार आवश्यक संख्या सुनिश्चित गर्ने विकल्पसमेत छलफल गर्न सकिने उनको भनाइ थियो।
उनले दोस्रो र तेस्रो दल सरकारमा सहभागी नहुने र पाँच वर्ष प्रतिपक्षमै बस्ने खालको नयाँ राजनीतिक समझदारीका लागि चुनावअघि नै राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरे। सभामुख चयनपछि बस्ने संसदको पहिलो बैठकबाट यस्तो सहमतिलाई संविधानमा समावेश गर्न सकिने उनको प्रस्ताव थियो।
शर्माले चुनावअघि सरकार, राजनीतिक दल, बौद्धिक समुदाय र युवा पुस्ता (जेनजी) समेत सहभागी हुने वृहत् सम्मेलन आयोजना गरी वर्तमान संविधान र राजनीतिक प्रणालीमा आवश्यक सुधारका विषयमा सहमति जुटाउन पनि सुझाव दिएका छन्।



