वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री अजय चौरसिया विरुद्ध स्थानीय युवाहरूले गरेको विरोध प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि क्षेत्रको राजनीतिक माहोल फेरि तातेको छ। उक्त घटना शुक्रबार भएको बताइए पनि भिडियो सार्वजनिक भएपछि आइतबारदेखि व्यापक चर्चा सुरु भएको हो।
पर्सागढी नगरपालिका अन्तर्गत झबराहा स्थित इन्दु रिसोर्ट होटल मा नेपाली कांग्रेसको नगरस्तरीय भेला चलिरहेका बेला ब्यानरसहित पुगेका युवाहरूको समूहले होटल बाहिर नाराबाजी गरेको थियो। उनीहरूले “भ्रष्टाचार बन्द गर”, “जवाफ दे”, “पुराना अनुहार होइन, नयाँ नेतृत्व चाहियो” जस्ता नारा लगाउँदै विगतमा गरिएका कामको सार्वजनिक जवाफ माग गरेका थिए। प्रदर्शनका क्रममा केहीबेर अवस्था तनावपूर्ण बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। यद्यपि, कुनै अप्रिय घटना नभएको स्थानीय प्रहरीले जनाएको छ।
विरोधमा उत्रिएका युवाहरूले विगतका कार्यकालमा भएका भनिएका अनियमितताबारे निष्पक्ष छानबिन र सार्वजनिक जवाफदेहिताको माग गरेका छन्। यता, भेलाभित्र सम्बोधन गर्दै उम्मेदवार चौरसियाले आफूमाथि लागेका आरोपहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै अस्वीकार गरेको स्रोतले जनाएको छ।
शुक्रबारको उक्त दृश्य सार्वजनिक भएसँगै पर्सा–२ मा चुनावी बहस र आरोप–प्रत्यारोप अझ चर्किने संकेत देखिएको छ। स्थानीय तहदेखि प्रतिनिधिसभा निर्वाचनसम्मको समीकरणमा यस घटनाले प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ।



