वीरगञ्ज । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का लागि उम्मेदवार मनोनयन दर्ताको समय तालिका सार्वजनिक गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयअन्तर्गत सहायक निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार विभिन्न राजनीतिक दलले तोकिएको समयसीमाभित्र आफ्ना उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्नेछ।
सार्वजनिक समय तालिकाअनुसार आमजनता पार्टीले बिहान १०ः३० देखि ११ः०० बजेसम्म, राष्ट्रिय जनमोर्चाले ११ः०० देखि ११ः३० बजेसम्म, नेकपा (एमाले) ले ११ः३० देखि १२ः०० बजेसम्म, नेपाली कम्युनिष्ट पार्टीले १२ः०० देखि १२ः३० बजेसम्म र नेपाली कांग्रेसले १२ः३० देखि १ः०० बजेसम्म मनोनयन दर्ता गर्ने समय पाएका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १ः०० देखि १ः३० बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ः३० देखि २ः०० बजेसम्म, जनता समाजवादी पार्टी नेपालले २ः०० देखि २ः३० बजेसम्म, जनमत पार्टीले २ः३० देखि ३ः०० बजेसम्म, नागरिक उन्मुक्ति पार्टीले ३ः०० देखि ३ः३० बजेसम्म, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३ः३० देखि ४ः०० बजेसम्म तथा सद्भावना पार्टीले ४ः०० देखि ४ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको छ।
निर्धारित समयबाहेक अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले भने बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने सहायक निर्वाचन अधिकृत प्रभाकर कुमार मल्लिकले जानकारी दिएका छन्।
निर्वाचन कार्यालयले तोकिएको समय तालिकाको पालना गर्दै शान्तिपूर्ण र मर्यादित रूपमा मनोनयन प्रक्रिया सम्पन्न गर्न सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ।

