spot_img

पर्सा–३ मा रामाकान्त चौरसिया ‘भोटकटुवा’ उम्मेदवारका रूपमा चित्रित, क्षेत्र–२ का उम्मेदवारलाई हराउन भूमिका खेल्दै

spot_img
spot_img

वीरगञ्ज, ४ फागुन – विकासे योजनाको ठेक्का लिएर काम नगरी योजना अलपत्र पार्ने आरोप खेप्दै आएका ठेकेदार रामाकान्त चौरसिया राजनीतिमा प्रवेश गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन्। तर, मतदाताबीच उनको लोकप्रियता अपेक्षाकृत कमजोर रहेको स्थानीय स्रोतहरूको दाबी छ।

पर्सा–३ बाट उम्मेदवारी दिएका चौरसियाले आफू जितको नजिक पुगेको दाबी गरे पनि धेरै मतदाताले उनलाई “भोटकटुवा” उम्मेदवारका रूपमा टिप्पणी गरेका छन्। उनी क्षेत्र नम्बर २ का स्थायी बासिन्दा भए पनि जातीय समीकरण मिलाउन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेको चर्चा चलिरहेको छ।

उनका नातेदार अजयकुमार चौरसिया क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेकाले सो क्षेत्रको समीकरण प्रभावित नहोस् भन्ने उद्देश्यले रामाकान्त चौरसिया क्षेत्र नम्बर ३ मा सरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। केही स्रोतका अनुसार, उनले क्षेत्र नम्बर २ मा आफ्नै पार्टीका उम्मेदवारलाई आन्तरिक रूपमा असहयोग गर्ने रणनीति अपनाएको आरोप पनि लागेको छ।

क्षेत्र परिवर्तन गरी उम्मेदवारी दिएका कारण उनले आफैलाई समेत मतदान गर्न पाउँदैनन् । लामो समयदेखि क्षेत्रीय जनसम्पर्कमा सक्रिय नरहेको कारण पनि चुनावी प्रतिस्पर्धा उनको लागि चुनौतीपूर्ण हुने मतदाताहरूको धारणा छ।

निर्माण व्यवसायसँग सम्बन्धित अनियमितता, गुणस्तरहीन काम तथा अधुरा योजनाका कारण उनको नैतिकता र जिम्मेवारीमाथि प्रश्न उठिरहेको स्थानीयहरूको भनाइ छ। साथै, प्रचारप्रसारका क्रममा विद्यालयका बालबालिकालाई प्रयोग गरिएको भन्ने दाबीका आधारमा आचारसंहिता उल्लंघनको आरोपसमेत लागेको छ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार चौरसियाको सामाजिक लगानी न्यून देखिन्छ र उनी विगतमा मुख्य रूपमा व्यापार–व्यवसायमा केन्द्रित थिए। यस कारण पनि उनलाई “भोटकटुवा” उम्मेदवारका रूपमा चित्रित गरिएको छ।

सो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र जसपा लगायतका दलहरूको प्रभाव रहे पनि दुईदेखि तीन दलबीच कडा प्रतिस्पर्धा हुने विभिन्न मत सर्वेक्षणहरूले देखाएका छन्। यसबीच चौरसियाको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको स्थानीय विश्लेषण छ। चुनावी कार्यक्रममा कार्यकर्ताको उपस्थिति घट्दै गएपछि उनले बालबालिकालाई प्रयोग गरेको आरोपसमेत खेपिरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय