बीरगन्ज,०५ फागुन। पर्सा क्षेत्र नं. २ का जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानीले बहुदरमाई नगरपालिका–४ अन्तर्गत डौकैला–बहुवरी चौक क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या र सुझाव सुने।
घरदैलोका क्रममा टेमानीले टोल–टोलमा पुगेर ज्येष्ठ नागरिक, महिला, युवा तथा किसानहरूसँग संवाद गरेका थिए। स्थानीय बासिन्दाले खानेपानीको अभाव, शिक्षा र स्वास्थ्य सेवाको कमजोरी तथा कृषि क्षेत्रका चुनौतीहरूबारे आफ्ना गुनासा राखेका थिए।
स्थानीयका अनुसार धेरै बस्तीमा स्वच्छ खानेपानीको पहुँच छैन भने विद्यालयहरूमा पर्याप्त पूर्वाधार र शिक्षक अभावका कारण गुणस्तरीय शिक्षा प्रभावित भएको छ। स्वास्थ्य चौकीहरूमा आवश्यक सेवा–सुविधा नहुँदा ग्रामीण बासिन्दा समस्यामा परेका छन्। किसानहरूले सिँचाइको कमी, मल–बीउ आपूर्तिमा ढिलाइ र उत्पादित बालीको उचित बजार नपाएको गुनासो गरेका थिए।
उम्मेदवार टेमानीले जनताको समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै ग्रामीण विकासलाई आफ्नो मुख्य एजेण्डा बनाउने बताए। उनले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिको समुचित सुधारबिना समग्र विकास सम्भव नभएको उल्लेख गरे।
घरदैलो अभियानमार्फत उनले पर्सा क्षेत्र नं. २ का विभिन्न स्थानमा चुनावी कार्यक्रमलाई तीव्र बनाउँदै मतदातासँगको सम्बन्ध सुदृढ गर्दै आएका छन्। स्थानीयले विकासमुखी नेतृत्वको अपेक्षा गर्दै उनलाई समर्थन गर्ने संकेतसमेत दिएका छन्।



