काभ्रे,०६ फागुन । काभ्रे जिल्लाको बनेपास्थित अरनिको राजमार्ग स्कुटर चालकको मृत्यु भएपछि केही समय अवरुद्ध बनेको थियो, तर सुरक्षाकर्मीको सक्रियतापछि अहिले पुनः सञ्चालनमा आएको छ।
बुधबार बिहान बनेपाको दूरसञ्चार कार्यालय नजिक टिपरले स्कुटरलाई ठक्कर दिँदा धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए, जसका कारण क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।
दुर्घटनामा संलग्न टिपरप्रति आक्रोशित प्रदर्शनकारीले सवारी साधनमा आगजनी समेत गरेका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल का सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएका थिए। नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मी को नेतृत्वमा सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिएका हुन्।
प्रदर्शनका क्रममा भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास समेत प्रयोग गरेको थियो। अहिले राजमार्गमा सवारी आवागमन सामान्य अवस्थामा फर्किएको प्रहरीले जनाएको छ।



